काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । यस टिमका लागि भारतीय पूर्व कप्तान तथा क्रिकेट स्टार विराट कोहली लगातार १८ वर्ष खेल्दा पहिलो पटक उपाधी जिते । सो क्रममा उनी भावुक देखिएका थिए । मंगलबार सम्पन्न फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएल उपाधि उचालेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो ।

अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन । शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २(२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १(१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।