काठमाडौं । इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा पुगेको हो । जर्मनीको डुसेलडर्फमा शनिबार रातिसम्पन्न क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै जित पक्का गरे । इंग्लाण्डका लागि पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा स्विट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मानुएल अकान्जी भने चुके ।
इंग्ल्याण्डका लागि कोल पाल्मर, जुड बेलिङघम, बुकायो साका, इऐन टोनी, र आर्नोल्डले गोल गरे । स्विट्जरल्याण्डका लागि फिबयन सार, जेद्रान शाकिरी र जेकी अम्डाउनीले पेनाल्टीमा गोल गरे । अकान्चीको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।
त्यसअघि खेलमा स्वीट्जरल्याण्डले पहिले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए तर बुकायो साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए । इंग्लयाण्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।