काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल बेलायत जाने भएको छ । नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित ६ जना अफिसियल भने आज बिहान ११ बजेपछि बेलायत प्रस्थान गर्दैछन् ।
विदेशी लिग खेल्न इन्डोनेसियामा रहेका रोहित चन्द भने उतैबाट बेलायत जाने एन्फाले जनाएको छ । बेलायत जान २३ खेलाडीसहित ३० जनाको मात्र भिसा प्राप्त भएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फाले ३० सदस्यीय टोली बाहेक ५ भीआईपी र अन्य १५ गरी थप २० जनाको लागि पनि भिसा प्रक्रिया अघि बढाएको थियो । तर ३० जनाको मात्र भिसा आएको हो । बाँकी २० जनाको भिसा आएको छैन । नेपाली टोली मंगलबारै उड्ने कार्यक्रम थियो । तर, भिसा आउन ढिलाई भएपछि बेलायत प्रस्थान पनि प्रभावित हुन पुगेको हो । नेपालले यही मे ६ (वैशाख २४)मा इंग्ल्याण्ड सी टिमसँग एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा खेल्ने कार्यक्रम छ ।