काठमाडौं । इक्वेडरमा एक कारागारमा भएको झडपमा कम्तिमा १ सय जना मारिएका छन् । बीबीसीका अनुसार त्यहाँ बन्दी गृहका दुई समूहबीच झडप भएको हो । मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको भेटिएको छ । अन्यको गोली प्रहार गरेर हत्या गरिएको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका छन् ।
स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको छ । उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्य राखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो। उक्त गिरोहले हाल सो मुलुकमा काम गरिरहेको समेत समाचारमा उल्लेख छ । इक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई डरलाग्दो भएको बताएका छन् ।
उनका अनुसार प्रहरीले २ बजे (स्थानीय समय) स्थिति आफ्नो नियन्त्रणमा लिएपनि राती पुनः गोली प्रहार, अन्य कुराहरू र विस्फोटन भएका छन् । यसअघि त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दी मारिएका थिए। प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए। त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरेका थिए । घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन्। राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्।