इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा अहिलेसम्म ४० हजार माथि हताहत

EPA\BBC

काठमाडौं । इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १।७ प्रतिशत हो । बीबीसीका अनुसार इजरायली सेनाको आक्रमणका कारण गाजा क्षेत्रका करिब ६० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् ।

विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनविरुद्ध तनाव उत्कर्षमा पुगेको हो । उक्त आक्रमणका कारण करिब १ हजार ३ सय जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै क्रुद्ध इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको हो । यसबीचमा युद्धविरामका लागि विभिन्न चरणमा भइरहेका वार्ता भने निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको अस्तित्व नामेट पार्नुपर्ने बताउँदै आएको छ । हमासले सन् २००७ यता गाजापट्टीमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टी इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किलोमिटर लामो र ६ देखि १२ किलोमिटर चौडा क्षेत्र हो । गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ ।