इजरायलबाट नेपालीको पहिलो टोली घर फर्कियो

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार प्रारम्भ गरिएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे । यी नेपाल फर्कन नाम टिपाएका ४ सय जना नेपालीमध्ये पहिलो टोली हुन् । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।


नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट नभएको बताए ।

उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’