काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ
जततउकस्ररायचmक।नभिरद्धज्ञछन्ःह्भ्द्ददश्ख्भ्यद्यअच्ठ
अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ। यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सबै नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको विज्ञप्तिमा उल्लेख छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।