काठमाडौं\बीबीसी । इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।
दक्षिण इजरायलमा साइरनका आवाज सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ। इजरायलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ। गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजराययले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ। इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो। इजिप्टसहित इजरायलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ।
इजरायलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने या नदिने निर्धारण गर्छ। गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ
इजरायली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताए। उनले ‘हमासले गरेको नृशंस आक्रमणले युद्ध थोपरिदिएको’ भन्दै केही घण्टामा पहिलो चरणको लडाइँ समाप्त हुने र त्यसमा इजरेली भूमिमा रहेका अधिकांश विद्रोहीहरू समाप्त पारिने बताए। हमासले इजरायलको दक्षिणी क्षेत्रमा शनिवार घुसपैठ गरेको थियो र त्यसयता उसले ३०० भन्दा बढीको हत्या गरेको छ।
इजरायली जबाफी हवाई हमलामा २३० जना भन्दा बढीले ज्यान गुमाएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। ती आक्रमणमा १,००० भन्दा बढी मानिस घाइते भएका छन्। इजरायली सेनाले उल्लेख्य रूपमा आफ्ना नागरिक र सैनिकलाई बन्धक बनाइएको उल्लेख गरेको छ। त्यसमा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरू रहेको उसको भनाई छ।
एक जना सैनिक प्रवक्ताले कतिपय जीवितै रहेको र कतिपय मारिएको हुनसक्ने बताए। यसैबीच संयुक्त राज्य अमेरिकाको हवाई सेवा नियामक निकायहरूले इजरायली हवाई क्षेत्रमा उडान भर्दा ‘एकदमै सावधानी’ अपनाउन अमेरिकी वायुसेवा र विमान चालकहरूलाई अनुरोध गरेको छ। अमेरिकी विदेश मन्त्रालयले पनि इज्रायलमा रहेका आफ्ना नागरिकलाई चनाखो हुन र सुरक्षा बढाउन भनेको छ।
बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार पुस्तौँपछि सीमापारिबाट आफूले भोगेको सबैभन्दा गम्भीर आक्रमणलाई लिएर इजरायल आश्चर्यमा परेको थियो। उनका अनुसार महिनौँदेखि प्यालेस्टिनी सशस्त्र समूह र इजरेलबीच तनावले विस्फोटक रूप लिन सक्ने जोखिम प्रस्ट देखिएका थिए। इजरायल र प्यालेस्टिनीहरूको तनाव वेस्ट ब्याङ्कमा केन्द्रित थियो जून भूगोल जेरुसलेम र जोर्डनको बीचमा पर्छ। उक्त भूमि इजरेलले सन् १९६७ यता अधीनस्थ गरेको छ र त्यहाँ वर्षभरि हिंसा र मुठभेड भएका थिए।
सशस्त्र प्यालेस्टिनीहरूले इजरेली सैनिकहरू र त्यहाँ बसेका यहुदीहरूलाई आक्रमण गरेका र इजरेली सेनाले कैयौँ कारबाही गरेका विवरणहरू आएका थिए। तर कसैले पनि हमासले गाजा भन्दा बाहिर यस्तो जटिल र संयोजित कारबाही गर्ला भन्ने नठानेको बीबीसीका अन्तर्राष्ट्रिय मामिला सम्पादक बोवेन बताउँछन्। एक जना हमासका कमान्डर मोहमद डिफले उक्त समूहलेअति भनेको अति हो भन्न चाहेको बताएका छन्।