इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपत्कालीन सेवाका स्वास्थ्यकर्मीहरूको हत्या गरेको खुलेको छ । सेनाले सो बारे आफ्ना सैनिकले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी रेड क्रेस्सेन्ट सोसाइटी पीआरसीएसका एम्बुलेन्सका लस्करहरू, संयुक्त राष्ट्रसङ्घको कार र गाजाको सिभिल डिफेन्सको दमकल रफाहा नजिकै गोलाबारीमा परेका थिए। इजरायलले सुरुमा गाडीका लस्करहरू हेडलाइट वा कुनै बत्ती नबाली शङ्कास्पद रूपमा देखापरेका कारण सेनिकहरूले गोली चलाएका दाबी गरेको थियो। गाडीहरूको आवागमनबारे सेनासँग पहिला समन्वय वा सहमति नगरिएको उसले बताएको थियो।
ज्यान गुमाएका एक प्यारामेडिकले मोबाइलमा खिँचेको भिडिओ सामग्रीमा घाइतेहरूलाई मद्दत गर्न गरिएको फोनको जवाफ दिँदा सवारी साधनहरूमा बत्ती बालिएको देखिएको थियो। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले कम्तीमा ६ जना स्वास्थ्यकर्मीहरू हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ तर उसले कुनै प्रमाण भने उपलब्ध गराएको छैन। सैनिकहरूले गोली चलाउँदा उनीहरू हतियारविहीन रहेको उसले स्वीकार गरेको छ।
सुरुमा न्यू योर्क टाइम्सले शेअर गरेको मोबाइल भिडिओमा बिहान हुनुभन्दा ठिक अगाडि गोलाबारी सुरु हुँदा गाडीहरू सडकमा रोकिएको देखिन्छ। भिडिओ सामग्री पाँच मिनेटभन्दा बढी समयसम्म जारी रहन्छ र त्यसमा रेफत रडवान नाम गरेका प्यारामेडिकले इजरेली सैनिकहरूको आवाज सवारी साधनहरू नजिक आउनुअघि आफ्नो अन्तिम प्रार्थना गरिरहेको सुनिन्छ। आइडीएफका एक अधिकारीले शनिवार साँझ पत्रकारहरूलाई जानकारी दिँदै आफ्ना सैनिकहरूले पहिले हमासका तीन सदस्यहरू रहेको कारमा गोली चलाएको बताए।
एम्बुलेन्सहरू उक्त क्षेत्र नजिक पुग्दा हवाई निगरानी अनुगमनकर्ताहरूले गाडीका लस्करहरू जमिनमा शङ्कास्पद रूपमा अगाडि बढिरहेको जानकारी सैनिकहरूलाई दिएका थिए। जब एम्बुलेन्सहरू हमासको कार छेउमा रोकिए, सैनिकहरूले आफू खतरामा परेको ठाने र आपत्कालीन टोलीका कुनै पनि सदस्य हतियारधारी नभएको कुनै प्रमाण नहुँदा गोली चलाउन थाले। इजरायलले बत्ती बिना गाडीहरू नजिकिएका थिए भनेर सुरुमा गरेको दाबी गलत भएको स्वीकार गरेको छ र त्यहाँ संलग्न फौजबाट आएको प्रतिवेदनलाई आधार मानेको छ।
भिडिओ सामग्रीमा गाडीहरू स्पष्ट रूपमा चिनिने र प्यारामेडिकहरूले प्रतिबिम्बित हुने पोसाक लगाएको देखिन्छ। सैनिकहरूले १५ जना मृतकहरूको शवलाई जङ्गली जनावरहरूबाट जोगाउन बालुवामा गाडेको अधिकारीले बताए। सडक खाली गर्न सवारी साधनहरू सारेर भोलिपल्ट गाडिएको उनले दाबी गरे। संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय निकायहरूले त्यस क्षेत्रमा सुरक्षित मार्गको व्यवस्था गर्न वा घटनास्थल पत्ता लगाउन नसकेका कारण घटना भएको एक सातासम्म त्यसबारे थाहा पाउन सकेनन्।
जब सहायता टोलीले शवहरू फेला पारे उनीहरूले घटनाको सामग्री भएको रेफत रडवानको मोबाइल फोन पनि फेला पारे। इजरेली सैन्य अधिकारीले कुनै पनि चिकित्सकको ज्यान जानुअघि हतकडी लगाइएको भन्ने कुरा अस्वीकार गरेका छन्। तर केही रिपोर्टहरूले जनाएअनुसार उनीहरूलाई नजिकबाट मृत्युदण्ड पनि नदिइएको उनले बताए।
एक जीवित प्यारामेडिकले यो साताको सुरुमा बीबीसीलाई एम्बुलेन्सहरूको बत्ती बालिएको र उनका सहकर्मीहरू कुनै पनि लडाकु समूहसँग सम्बन्धित नभएको बताए। आइडीएफले घटनाको पूर्ण जाँच गर्ने बाचा गर्दै यसबाट घटनाक्रम र परिस्थितिको व्यवस्थापन बुझिने जनाएको छ। रेड क्रेस्सेन्ट र अन्य थुप्रै अन्तर्राष्ट्रिय सङ्गठनहरूले स्वतन्त्र छानबिनका लागि आह्वान गरिरहेका छन्। इजरेलले मार्च १८ तारिखमा गाजामा आफ्नो हवाई बमबारी र स्थल आक्रमणलाई पुनः थालेको थियो।
उसले पहिलो चरणको युद्धविराम सम्झौता सकिएपछि र दोस्रो चरणको वार्ता रोकिएपछि पुनः युद्ध थालेको हो। हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता मात्रै गाजामा १२०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। सन् २०२३ को अक्टोबर ७ तारिखमा विगतमा कहिल्यै नभएको सीमापार आक्रमणको प्रतिक्रियामा इजरेली सेनाले हमासलाई नष्ट गर्न अभियान सुरु गर्यो। उक्त सीमापार आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा ५०,६०० भन्दा बढी मानिसहरू मारिएका छन्।
बीबीसीबाट