काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन आग्रह गरेको छ । दुई मुलुकबीच बढ्दो तनावबारे चासो राख्दै नेपालले यस्तो बताएको हो । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएको खबर सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार ट्वीट गर्दै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय क्षति र विध्वंश रोक्न समेत आग्रह गरेको छ । पछिल्लो हिंसामा एक भारतीय महिलासहित ३१ जनाको ज्यान गएको छ । नेपालले समस्याको समाधानको लागि शान्तिपूर्ण माध्यमतर्फ अग्रसर हुन समेत भनेको छ ।