काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको छ ।
सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका छन् । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । च्यासलले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको समेत उल्लेख गरे ।
१८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । विकास इटलीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । विकासले भेनेजिया फुटबल क्लबको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन् । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटली पुगेका थिए ।