रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ ।
बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् ।
यसले विश्वचर्चित फूटबल लीग सिरी–ए समेत स्थगित हुने भएको छ । चीनबाट फैलिएको कोरोनाले इटालीमा चीनपछि सबैभन्दा ठूलो क्षति गरेको छ ।
इटलीका २० राज्यमध्ये १९ राज्यमा यसको संक्रमण फैलिइसकेको छ । इटलीमा मात्र अहिलेसम्म कोरोनाबाट १ सय ७ जनाको मृत्यु भएको छ ।
यस मुलुकमा ३ हजारभन्दा बढी मानिसमा संक्रमण फेला परेको छ ।
इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले स्वास्थ्य सेवा खतरामा रहेको उल्लेख गरेका छन् ।
इटलीका मूख्य पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । इटली पर्यटन व्यवसायबाट सर्वाधिक आम्दानी गर्ने मुलुकमध्ये एक हो ।