इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई दोस्रो लता मंगेश्कर भनी प्रशंसा गर्ने पनि छन् । उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।

मेनुका सोमबार घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।