जाकार्ता । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु किनबेच नहुने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो ।
शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएको छ । विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका छन् । पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।
कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नु नपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ ।
स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए ।
पशुलाई नमरुन्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रूर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ सहर बुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।