काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले राइड सेयरिङ एपको प्रयोग गर्दा लामाले उनको व्यक्तिगत विवरण पाएका थिए। त्यस एपबाट उनले नाम, ठेगाना र मोबाइल नम्बर पाएका थिए। त्यसको दुरूपयोग गर्दै उनले पोर्न साइटमा समेत राखेको पाइएको छ ।
उनले ती पीडितको फेसबुकमा राखेको तस्बिरहरू डाउनलोड गरेर फेक अकाउन्ट समेत बनाएका थिए। त्यसरी फेक अकाउन्ट बनाएर त्यसबाट पीडितका साथीहरूसँग पनि कुराकानी गरेको र पैसा समेत मागेर झूटा अफवाह समेत फैलाएको खुलेको ब्युरोले विज्ञप्ती निकाल्दै जनाएको छ । त्यही अकाउन्टमार्फत् स्टडी मटेरियल नामक मेसेन्जर ग्रुप बनाएको पनि खुल्यो। त्यहाँ ती पीडितको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरू लेखेर पोष्ट गरेको प्रहरीले पाएको बताएको छ।
यसरी सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडितको व्यक्तिगत र सामाजिक तथा मानसिक तनाव, दुःख, हैरानी दिएर बदनाम गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी लामालाई पक्राउ गरेको हो। यस्तो कसुरमा अरू कोही पीडित भएको भएमा प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ।