इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए।

इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ। भुकम्प लगत्तै सुनामीको चेतावनी दिए पनि हटाइएको छ । भूकम्पको केन्द्रबिन्दु वरिपरि चारवटा टाइड गेजको अवलोकनपछि त्यहाँ कुनै विपत्ती नभएको र समुद्रको सतहमा कुनै उल्लेखनीय परिवर्तन नभएकाले सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जानकारी दिएका छन्। भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।