काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलंकामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पूनरागमन गरेका छन् ।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी बाहिरिएका छन् । क्यानडामा आयोजना हुने टी–२० ग्लोबल खेल्न जान लाागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिर राखिएको हो । आइसीसी एकदिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिईएको छ ।
प्रतियोगिता १३ जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् । समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।
नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको कुनैपनि खेललाई एकदिवसीय मान्यता रहने छैन ।