इयू आयुक्त जुट्टा नेपाल भ्रमणमा आउने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्न आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने छिन् ।
आयुक्त उर्पिलेनेनले भ्रमणका क्रममा नेपाली नेताहरुसँग भेटघाट गर्ने र ईयूका विभिन्न कार्यहरूको सुरुआत गर्ने बताइएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् । दूतावासले आयुक्त उर्पिलेनेनको भनाइ उल्लेख गर्दै ईयु र नेपालको साझेदारीलाई सृदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा छलफल हुने जनाएको छ ।

‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु,’ ईयको दूतावासले जारी गरेको विज्ञप्तिमा उनले भनेकी छन्, ‘रुसले युक्रेनविरुद्ध गरेको आक्रामक युद्धले नेपाललगायत विश्वको खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ । म त्यसका लागि ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्ने छु । ईयू प्रविधि, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित सम्बन्ध विस्तार गर्न र विश्वभरका स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ बनाउनका लागि साझेदारी गर्न सकारात्मक प्रस्ताव अगाडि सार्न चाहन्छ ।’

नेपालले सन् २०२६ मा अल्पविकसित देश ९एलडीसी० स्थितिबाट स्तारोन्नति हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको भन्दै ईयूले सन् २०२१ देखि २०२७ सम्म नेपाललाई बहुवर्षीय इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको स्मरण गरेको छ । साथै, नेपाल सरकारको अनुरोधमा एमआईपीमार्फत ईयूले कोभिड–१९ महामारीको प्रभाव नियन्त्रण गर्न र नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान दिने उल्लेख छ ।