इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

file

काठमाडौं । इरानमा ग्याँस चुहावटका कारण एउटा कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जना मारिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। साउथ खोअर्सन प्रान्तमा भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन्। राजधानी तेहरान भन्दा ५४० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको खानीमा मिथेन ग्यास चुहावटपछि खानीका दुई वटा ब्लकमा विस्फोट भएको थियो। स्थानीय समय अनुसार शनिवार राती ९ बजे विस्फोट भएको सरकारी सञ्चार माध्यमले जनाएको छ। प्रान्तका गभर्नर जाभेद गेनातजदेहले विस्फोट भएको समयमा ती ब्लकहरूमा ६९ जना कामदार रहेको बताएका छन्।

“दुर्भाग्यवश मदान्जु खानीमा विस्फोट भएको समयमा ६९ जना मानिसहरू बी र सी ब्लकमा काम गरिरहेका थिए,” उनलाई उद्धृत गर्दै एपी समाचार संस्थाले उल्लेख गरेको छ। एउटा ब्लकमा ४७ र अर्कोमा २२ जना काम गरिरहेका समयमा घटना भएको उनले बताएका छन्। अझै कति मानिसहरू खानीमा थुनिएका छन् र जीवित छन् भन्ने प्रस्ट छैन। आईआरएनए समाचार संस्थाले रेड क्रिसेन्टका इरान प्रमुखलाई उद्धृत गर्दै आइतवार २४ जना हराइरहेको जनाएको थियो।

समाचार संस्था रोएटर्सका अनुसार इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गरेका छन्। मैले मन्त्रीहरूसँग कुरा गरेको छु। हामी हामीले सक्ने गति गर्छौँ, उनले टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भनेका छन्।