इरान भन्छ : ट्रम्पको दावि झुटो हो

(250623) -- TEHRAN, June 23, 2025 (Xinhua) -- This photo taken on June 19, 2025 shows the scene after the attack on a building of Iran's state broadcaster IRIB in Tehran, Iran. Iran's state broadcaster IRIB said one of its buildings was hit on June 16 in a "brutal aggression" by Israel, but added that live broadcasts continued without major disruption. (Xinhua)

१० असार, काठमाडौं । इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभएको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए। उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए।

अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरेललाई सजाय दिन जारी राख्ने बताए। तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए। सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए।
ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ। तर पहिले दुवै देशले तिनले थालिसकेका अन्तिम सैन्य कारबाहीहरू सम्पन्न गर्ने उनले बताएका थिए।

अहिले इजरेलले अभूतपूर्व शक्तिका साथ इरानमा निसानाहरूमा प्रहार गरिरहेको त्यहाँका रक्षामन्त्रीले बताएका थिए। इरानले चाहिँ इजरेलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरबाट मानिसहरूलाई अन्यत्र जान चेतावनी दिएको थियो। राष्ट्रपति ट्रम्पका अनुसार २४औँ घण्टाको अन्त्यपछि यो युद्ध आधिकारिक रूपमै टुङ्गिनेछ।

राष्ट्रपति ट्रम्पले युद्धविरामको घोषणा भएको दाबी गर्नुभन्दा केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गर्दै त्यसलाई उसको परमाणु केन्द्रहरूमा अमेरिकाले गरेको हमलाको शक्तिशाली जवाफ भनेको थियो। इरानी हमलामा कुनै हताहती नभएको कतारले जनाएको छ। ट्रम्पले पनि त्यसको पुष्टि गरे। केही घण्टापश्चात् कतारले उसको हवाई क्षेत्र खुला गरेको थियो। कतार, अन्य खाडी राष्ट्र तथा राष्ट्रसङ्घ सबैले उक्त इरानी कारबाहीको निन्दा गरेका थिए।
बीबीसीको सहयोगमा