काठमाडौं । आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।