उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

File Photo : BBC-REUTERS

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुटेर आएको भिषण बाढीमा परी कम्तिमा २६ को मृत्यु भएको पुष्टी भएको छ । त्यसमा एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी उनको पहिचान खुलेको छैन ।

चार जना नेपालीको भने सकुशल उद्धार गरिएको छ । आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले गरेको उद्धारमा ४ जना नेपाली नागरिक समेत थिए । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आएको बाढीमा परी हराइरहेकाको खोजी अझै जारी छ ।

बीबीसीका अनुसार अझै १७० भन्दा बढी मानिस वेपत्ता छन् । २६ जनाको मृत्यु भएको छ भने २५ जनाको सकुशल उद्धार भएको छ । उनीहरुलाई चमोली जिल्लाको तपोवनस्थित ऋषिगंगा जलविद्युत्को सुरुङबाट जीवितै उद्धार गरिएको हो ।

धौलीगंगा नदीमा आएको भिषण बाढीले ठूलो मानवीय क्षति गरेको छ ।
उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेको थियो । यसले धौलीगंगा, अलकनन्दालगायत नदीमा ठूलो बाढी आएको छ ।

बाढीले चमोली जिल्लाको रैनी र तपवोवन क्षेत्रमा ठूलो क्षति गरेको छ । दुई गाउँ बगेका छन् । जोशी मठ नजिकै एक पुल बगेको छ । चारवटा जलविद्युत् आयोजना ध्वस्त भएका छन् । घटना आइतबार भएको हो । आज पनि खोज तथा उद्धार जारी रहने आईटीपीबीले जनाएको छ ।