उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

Rescue workers and local residents use heavy machinery to search for bodies of the victims of Friday's flash flooding through the rubble of damaged houses at Qadir Nagar village near Pir Baba, Buner district, in Pakistan's northwest, Saturday, Aug. 16, 2025. (AP Photo/Muhammad Sajjad)

२० भदौ, काठमाडौं । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्। पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ बेपत्ता भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार साँझदेखि अहिलेसम्म ३५६ जनाको मृत्यु भएको छ ।

आसपासका क्षेत्रमा दर्जनौं मानिसको मृत्यु भएपछि पछिल्लो पाँच दिनमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको छ । खैबर पख्तुनख्वाको अति प्रभावित दलोरी गाउँमा उद्धारकर्ताहरूले हराइरहेका मानिसहरूको शव फेला पार्ने आशामा माटो र ढुङ्गाको थुप्राहरू खनेर उद्धारप्रयासलाई निरन्तरता दिएका छन् । भीषण वर्षाका कारण खोजी कार्य रोकिएको एक दिनपछि उद्धारकर्मीहरूले काम गरिरहेको बेला गाउँलेहरू हेरिरहेका र प्रार्थना गरिरहेका थिए।

प्रत्यक्षदर्शीहरूले भनेका छन्, “२० मिनेटभन्दा कम समयमा हाम्रो गाउँ भग्नावशेषमा परिणत भयो।” धेरै सडक क्षतिग्रस्त भएका छन् जसका कारण उद्धारकर्मीलाई बाढीले क्षति पु¥याएको क्षेत्रमा पुग्न कठिन भएको छ । बाढी प्रभावित क्षेत्रमा फोन नेटवर्क अवरुद्ध भएका कारण सञ्चार पनि कठिन छ ।
अहिलेसम्मको सबैभन्दा खराब मनसुनी वर्षाबाट जोगिएको पाकिस्तानको दक्षिणी भागमा पनि मङ्गलबारदेखि भारी वर्षा सुरु भएको छ ।

दक्षिणी सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले कमजोर पूर्वाधारका कारण आर्थिक राजधानी कराँचीजस्ता ठूला सहरमा शहरी बाढी आउने डर रहेको बताए । कराँचीको भत्किएको पाइप र ढल प्रणालीले वर्षाको पानी धान्न नसकेपछि सडकमा निस्किएको भलका कारण ट्रफिक बढी हुने समयमा चालकहरू सडकमा देखिएका पानीका तालमा फसेका थिए र धेरै इलाकाहरू विद्युत् कटौतीको चपेटामा परेका थिए। छिमेकी बलुचिस्तान प्रान्तका १५ जिल्लामा पनि वर्षा भइरहेको र सिन्धसँग जोड्ने मुख्य राजमार्ग भारी सवारी साधनका लागि अवरुद्ध भएको प्रान्तीय विपद् अधिकारी मोहम्मद युनिसले जानकारी दिए । उनका अनुसार प्रान्तका बढी प्रभावित दुई जिल्लामा ४० देखि ५० घरमा क्षति पुगेको छ ।

एनडीएमएका अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदर मलिकले वर्षा शनिबारसम्म जारी रहने र यो महिनाको अन्त्यसम्ममा पुनः भारी बर्षा हुने बताए । एनडीएमएका अनुसार जुन २६ यता मनसुनी वर्षाका कारण ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने करिब एक हजार भन्दा बढी घाइते भएका छन् । मनसुन सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको छ । पाकिस्तानमा सन् २०२२ मा आएको बाढीका कारण पाकिस्तानको एक तिहाइ भूभाग डुबानमा परेको थियो जसका कारण करिब एक हजार ७०० जनाको मृत्यु भएको थियो ।