काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए।
युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन्। पुटिन र किमले बुधवारै कैयौँ बैठकहरूमा सहभागिता जनाउने छन् भने राजकीय भोजमा पनि उनीहरू सरिक हुनेछन्। पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्। सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए।
गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए। दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ।
अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ। उनीहरूको भेटघाट सांस्कृतिक, कृषि, आर्थिक र पर्यटनको क्षेत्रमा पनि दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने अनुमान गरिएको छ ।