काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ ।
दक्षिण कोरियाली अधिकारीहरूले स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको समेत दाबी गरेका छन् । पुटिन मंगलबार नै उत्तर कोरिया जाने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
यसअघि गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ रुस भ्रमणमा गएका थिए । पुटिनको भ्रमणबारे क्रेमलिनले भने औपचारिक रूपमा जानकारी गराएको छैन । तर रुसी सञ्चारमाध्यमले भने पुटिन भियतनाम र उत्तर कोरियाको भ्रमणमा निस्कने सम्भावना रहेको भन्दै समाचार लेखेका छन् ।
अमेरिकाले भने उत्तर कोरिया र रुसबीचको बढ्दो घनिष्ठ सम्बन्ध चिन्ताजनक रहेको बताएको छ । रुसी सञ्चारमाध्यमहरूले भने पुटिन ुमैत्रीपूर्ण राजकीय भ्रमणुमा उत्तर कोरिया जाने बताएका छन् । प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन् ।
पुटिनको स्वागतका लागि नेता किम सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्ने पनि योन्हाप न्युज एजेन्सीको दाबी छ । पुटिनलाई प्योङयाङस्थित कुमसुसान गेस्ट प्यालेसमा राख्ने तयारी छ जहाँ सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत राखिएको थियो । वरिपरि ताल र जंगलले घेरेर बनाइएको उक्त दरबार विदेशी विशिष्ट पाहुनाहरूलाई राख्नका लागि बनाइएको बताइएको छ । उक्त दरबार सीको भ्रमणअघि नै तयार भएको एनके न्युजले दाबी गरेको छ ।
सीको भ्रमणका बेला उत्तर कोरियाली टेलिभिजनहरूबाट दरबार परिसर र भित्रका दृश्यहरू सार्वजनिकसमेत भएको थियो । यो दरबार बन्नुअघि भने उत्तर कोरियाले विदेशी पाहुनालाई बाएख्वावोन गेस्ट प्यालेसमा राख्ने गर्थ्यो । उक्त प्यालेसमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिहरू किम दाई जुङ, रोह मु ह्युन्, मून र जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई समेत राखिएको थियो । त्यस्तै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सोही दरबारमा बसेका थिए ।
प्योङयाङमा पुटिन र उनको टिमको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडसमेत हुने बताइएको छ । प्लानेट ल्याबका अनुसार किम इल सुश्र स्क्वायेरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ ।