उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

Agency

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ ।

कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ । उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो।

भागदौडको कारण स्पष्ट भइसकेको छैन। तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन्। मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन्। पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।