उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।