काठमाडौं । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा बिहीबारबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको छ। बिहीबार देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।