काठमाडौं । उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । त्यस अगाडी उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगको तालिका छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।, २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको छ ।
गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।