काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको हो । उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् ।
आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि दुई जना महिलाको उम्मेदवारी परेको छ भने ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी परेको छ । त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ८ पदमा ३५ महिला र ४८ पुरूषसमेत गरी ८४ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।उनका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३३ जनाको मात्रै उम्मेदवारी परेको छ ।