उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरि प्रचार प्रसार गरेमा कारवाही हुने र्भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको हो । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न, नगराउन समेत आयोगले भनेको छ । अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ ।