काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २–१ ले पराजित भएको छ । खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।
तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकाल्यो । जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ । भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।
पहिलो हाफमा मैदानको अवस्थाका कारण खेलाडीहरुलाई खेल्न कठिन भएको थियो । नियमित कप्तान किन्ले वाङ्चुक बेन्चमा राख्दै पारो जापानी खेलाडी केसुके होन्डाको कप्तानीमा मैदान उत्रेको थियो । पारोले होन्डाको कप्तानीमा पहिलो रोजाईँमा ९ विदेशी खेलाडी मैदान उतारेको थियो भने चर्च ब्वाईजमा ३ विदेशी खेलाडी मात्र खेलेका थिए ।
दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गर्दै आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको सुरुवाती १५ मिनेट चर्च ब्वाईजले दबाब बनाएको थियो । ६६ मिनेटमा पारोका विलियम ओपोकुले गोल गर्दै पारोलाई २–१ को अग्रता दिलाए ।