काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो ।
सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्यापिड टेष्टको तयारी थालेको हो ।
यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय गरेको थियो ।
यसरी धेरै जनामा हुने परीक्षणबाट जुन व्यक्तिको रिर्पोट पोजेटिभ आउँछ, उसको मात्र पीसीआर प्रविधिबाट परीक्षण गरी कोरोना भए नभएको निश्चित गरिने भएको छ ।
यसको तयारी थाल्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
कार्यालयका अनुसार अब कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको परीक्षण हुने भएको छ ।
बागलुङका कोरोना संक्रमित व्यक्तिहरुको बासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेकाको समेत परिक्षण गर्न लागिएको छ ।
२०७६ चैत महिनामा नेपाल प्रवेश गरेका र तिनीहरुको सम्पर्कमा रहेका सबै व्यक्ति अब परीक्षणको दायरामा आउने भएका छन ।
कैलालीमा विदेशबाट आएका एक संक्रमितबाट परिवारको सदस्यमा संक्रमण सरेको पाइएपछि सरकारले र्यापिड टेष्टमा जाने निर्णय गरेको हो ।
कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्यापिड टेष्ट गर्ने जिल्लामा बागलुङ पनि हो ।
यहाँ दुई जना संक्रमित छन् । उनीहरु दुवैजना बेल्जियमबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएका हुन् ।
उनीहरु विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसी समुदायमा निस्फ्रिकी डुलेका थिए । त्यसकारण स्थानीय स्तरमा संक्रमण फैलिएको गएको आशंका छ । र्यापिड टेष्टका लागि तालिमप्राप्त एउटा टोली बागलुङ र अर्को टोली सुदूरपश्चिमतिर सोमबार प्रस्थान जाँदैछ ।