एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ ।

खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ । यो उमेर समूहका नागरिक करिब १३ लाख छन् । यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकले समेत पाउने छन् । नेपालमा बसोबास गरिरहेका शरणार्थीले समेत यो खोप पाउने भएका छन् ।

नेपालमा करीव २५ हजार शरणार्थी रहेको अनुमान छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत यो खोपमा प्राथमिकता दिइएको छ । सोमबार अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ ।