काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको कार्यालयको सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अब मन्त्रिपरिषद्मा मात्र ५ सदस्य बाँकि छन् । प्रधानमन्त्रीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउँदै उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री थपेका थिए । २७ जेठमा सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाएका हुनेको मन्त्रिपरिषद् अब ५ सदस्यमा सिमित बनेको छ ।