एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण बढी देखिएको हो । विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

संघ मातहतको स्वास्थ्य समितिका अनुसार, यो हप्ता विदेशमा १ हजार १ सय ६३ जना नेपालीले भने कोरोनालाई जित्न सफल भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परिसकेका छन् ।

त्यसमध्ये ४० हजार सात सय २८ जना अर्थात् ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेका छन् । यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म विदेशमा दुई सय ८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
१० हजार किट स्वास्थ्य सामग्री
एनआरएनएले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेको एनआरएनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरेका थिए ।