म्याड्रिड — एट्लेटिको म्याड्रिडले यस वर्षको स्पानिस लिगको उपाधी जितेको छ । बार्सिलोनाले आफ्नो प्राथमिकतामा नराख्ने घोषणा गरेपछि म्याड्रिड पुगेका लुइस स्वारेज वर्षभर नै यो टीमका लागि भाग्यमानी सावित भए । शनिबार राती सम्पन्न निर्णायक खेलमा समेत उनकै गोलको सहायतामा एट्लेटि च्याम्पियन बन्न सफल भएको हो । शनिबार टोलीले रियल भालाडोलिडलाई हरायो ।
हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ । एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै एट्लेटिकोले भालाडोलिडलाई २–१ ले हराएको हो । सिजन निकै प्रतिस्पर्धात्मक रह्यो । सोहीकारण अन्तिम खेलबाट स्पेनिस लिगको उपाधि जित्ने टीमको छिनोफानो भएको हो ।
ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लियो । एन्जल कोरिआलेले एट्लेटिकोलाई ५७ औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल निर्णायक सावित बन्यो । रियल म्याड्रिड समेत भिल्लारियललाई जित्दै उपाधी दावेदार थियो ।
एट्लेटिको बराबरीमा मात्र रोकिएको भए रियले उपाधी जित्ने निश्चित थियो । ३८ खेल सकिँदा सम्म एट्लेटिकोको ८६ र रियलको ८४ र तेस्रो स्थानमा बार्सिलोनाको ७९ अंक रहयो । एट्लेटिकाले सन् २०१४ पछि पहिलो पटक लिगको उपाधि उचाल्न सकेको हो ।