एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।
एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण जितेर आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएकी छन । चार दिनसम्म चल्ने राष्ट्रिय प्रतियोगितामा उनले आठ वटा स्पर्धामा सहभागिता जनाउनेछिन् ।

अमेरिकामै जन्मेर उतै हुर्किएकी एस्लीले नेपालमा पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेकी हुन् । क्यालिफोर्नियामा राज्यस्तरकी पौडी खेलाडी १६ वर्षीय एस्लीले चार वर्षअघि लिटिल एञ्जल्स स्कुलमा आयोजित प्रतियोगिता खेल्न पहिलोपल्ट नेपाल आएकी थिइन् ।

नेपाली पौडीकी सर्वाधिक सफल खेलाडी गौरिका सिंह अस्वस्थ भएर खेल्न नसकेपछि राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिताको रौनक एस्लीले कायम राखिन् । एस्लीले स्वर्ण जितेको तीन वटै स्पर्धाको राष्ट्रिय कीर्तिमान (सर्ट कोर्ष) गौरिकाको नाममा छ । तीनमध्ये दुई स्पर्धाको फाइनल खेलमा गौरिकाले स्वास्थ्यका कारण वाकओभर दिएपछि एस्लीलाई जित्न सहज भएको हो । तर, शनिबार बिहान भएको १०० मिटर फ्रिस्टाइलमा उनले गौरिकाभन्दा राम्रो टाइमिङ निकालेकी छिन् ।

पोखराको फिस्टेल एकेडेमीको सर्ट कोर्ष (२५ मिटर पौडी पोखरी)मा उनले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ०१.४२ सेकेण्डको टाइमिङसहित स्वर्ण जितिन् । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकार १ मिनेट ०१.६० सेकेण्डको टाइमिङसहित रजत र नेपाल पुलिसकी मेघन गुरुङले १ मिनेट ०६.२८ सेकेण्डको टाइमिङसहित कास्य जितिन ।