एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ ।

हिमालयपुत्री पार्वतीले भगवान शिवजी पतिको रूपमा पाउॅ भनी ब्रत बसेको र त्यसैअनुरूप शिवजीलाई पतिको रूपमा प्राप्त गरेको दिनलाई तीजको स्वरूप दिइएको भन्ने पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

यही अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरको मूल आयोजनामा संयुक्त “हरितालिका तीज २०२४” कार्यक्रम आयोजना हुन गइरहेको छ।

यसै क्रममा सह- आयोजक बाग्लुङ सेवा समाज अमेरिका, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज न्युयोर्क रहेका छन्।

विगतका वर्षहरूमा सत्यनारायण मन्दिरमा हुने गरेको यो कार्यक्रम दिदीबहिनीहरूको उल्लेख्य सहभागिता अनुसार हलको क्षमता कम भएकोले दिदीबहिनीहरूले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर यो पटकको हरितालिका तीज कार्यक्रम दिव्यधाम मन्दिरमा हुन गइरहेको छ ।

यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हॅुदैन । यसो गर्नाले तीजको खास अर्थ र महत्व ओझेलमा पर्छ । यद्यपि तीज पर्वलाई हामीले परम्परागत् विधि र मान्यता अनुसार परिष्कृत गर्दे लैजानु पर्दछ ।

यस बर्षको न्युयोर्केली तीज पनि गत बर्षहरु जस्तै भव्य, सभ्य र सांस्कृतिक हुने विश्वास लिएकी छु । सम्पूर्णमा सामाजिक, धार्मिक र सांस्कृतिक एक्यबद्दता र सद्भावको लागि मिलेर रमाएर तीज मनाउन आउनहुन समेत आमन्त्रण गर्दछु ।