एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

सुपेन्द्र बस्नेत, बोष्टन

आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले नेपाल बाहिर (सार्क राष्ट्रहरु बाहेक) विश्वभर छरिएर रहेका नेपालीहरु र नेपाली मूलको विदेशी नागरिकहरुको साझा छाता संस्था हो ‘गैर आवासीय नेपाली संघ’ । जन्मभूमि र कर्मभूम बीच आत्मीय सामिप्यता ल्याउन सेतुको काम गर्नु , प्रवासी नेपालीहरु हितका लागि सक्दो भूमिका निर्वाह गर्नु , नेपाल र नेपालीको समृद्धिका लागि सक्दो योगदान पुर्याउनु र नेपालीको समृध्दि मार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरुको प्रसिद्धि बढाउनु नै यस संस्थाको मुख्य उद्देश्यहरु रहेका छन्। सन् २००३ , अक्टोबर ११ तारिखका दिन एक गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा स्थापित यो संस्था , नेपाल सरकाबाट मान्यता प्राप्त आधिकारिक संस्था हो । जसलाई गैर आवासीय नेपाली नियम २०६४ लागू गरी नियमन गरिएको छ ।
संस्थाको विधानमा हरेक दुई बर्षमा नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार , गैर आवासीय नेपाली संघ , अमेरिकाले पनि कोरोना कहरकैबीच जसोतसो निर्धारित मिति भित्रै विभिन्न राज्यहरुमा रहेका आफ्ना च्याप्टरहरुको र राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गर्यो। निर्वाचनका सम्बन्धमा लागेका अनेक खाले आरोपहरुलाई बेवास्था गर्ने हो भने , निर्वाचन सम्पन्न गर्ने कार्यसमिति र निर्वाचन आयोग धन्यवादको हकदार नै छन्। तर, निर्वाचनका दौरानमा लोकतान्त्रिक अभ्यासका नाममा भएका अलोकतान्त्रिक हर्कतहरु भने साच्चै जिब्रो कटाउने र नाक तथा निधार खुम्च्याउने स्तरको रहेको कुरा पनि जग जाहेर नै छ । यद्यपि, संस्थाको हित तथा नेपाल र नेपालीको उज्वल भविश्यको आसका खातिर, देखे पनि नदेखे झैं र सुने पनि नसुने झैं चैचुप मैचुप रहनेहरुको जमात पनि बलियो नै रह्यो । जसका करण तै चुप मै चुप, खुला दिसा गर्नेलाई देखिए-आफै लुकको अवस्थाबाट गुज्रदै संस्थागत निर्वाचन अभियान राष्ट्रिय वार्षिक साधारणसभातिर लम्कन सफल भयो। निर्वाचन पश्चात् पराजित भएकाहरुका आत्तिएका रुवावासी र विजयी हुनेहरुको मात्तिएका विजयोत्सवका हर्कतहरु संस्थाको गरिमा अनुसार विलकुल शोभनीय रहेनन्। हुनत सामान्यतया लोकतान्त्रिक निर्वाचन परिणाम सार्वजनिक भै सकेपछि ति हर्कतहरुले विश्राम लिनु पर्ने थियो । र, सबै तिता र असन्तुष्टिहरु बिर्सिएर पुनःसंस्थागत अभियानमा एकताबद्ध भइ अघि बढ्नु पर्ने हो । तर, ‘दुर्भाग्य’ त्यसले जुलाई ३-४ सम्म न्यू योर्कमा भएको गरिमामय ‘राष्ट्रिय साधारणसभा’सम्मको यात्रा तय गर्यो । उदघाटन समारोह मै विजयको दम्भ, पराजयको पिडा र घृणाको कुण्ठाले धारण गरेको पराकाष्ठा यसरी छताछुल्ल भयो कि, जसले संस्थाको गरिमा नराम्ररी चुकायो। गर्वीलो शिर झुकायो । र , मतदाहरुको आसा र भरोसा टुटायो। नवनिर्वाचितहरुलाई औपचारिक पद ग्रहणका लागि हतारो हुनु र पुरानाहरुलाई पद त्याग गर्ने बेला पसारो पर्नुले नराम्ररी जग हसायो । सुरक्षा दस्ताको चौघेरामा हतार हतार सपथ ग्रहण कार्यक्रम सम्पन्न हुँदाको क्षण, निकै दयनीय, टिठिलो र लज्जास्पद रह्यो । आयोजित गरिमामय साधारणसभालाई मुख्य गरी संस्थाको नीति नियम निर्माण गर्ने, आगामी कार्ययोजना तर्जुमा गर्ने, भए गरेका क्रियाकलापहरुको मुल्याङ्कन गर्ने र अग्रगामी कदम चाल्नका लागि पृष्ठपोषण गर्ने अमुल्य सुवर्ण अवसरका रुपमा भरपुर सदुपयोग गरिनु पर्ने थियो। तर, त्यसो नभएर साधारणसभा बदला लिने, लामो समयदेखि पालित पोषित कुण्ठा पोख्ने र एक अर्कालाई खुइल्याउने मौकाको रुपमा दुरुपयोग गरियो । यी सलबलाएका घटनाहरुका छनकहरु हेर्दा, यी समस्याहरुको समाधान तत्कालै त्यति सजिलो हुनेवाला देखिन्न। ज्ञान, बुद्धि, विवेक र सीपका दृष्टले विश्वकै अग्रपंक्तिमा रहेको मानिएको देश अमेरिकामा रहेर पनि, होनहार मानिएका संस्थाका जिम्मेवार व्यक्तित्वहरुबाटै यस्ता लज्जास्पद , निन्दनीय र खेदजनक व्यवहारहरु भएको सुनिनु र देखिनु, नेपाल र नेपालीका लागि निकै दुर्भाग्यको कुरा हो । यस घटनाले संस्था भित्र सामुहिक स्वार्थका खातिर चाहिने अपरिहार्य संस्थागत संस्कार, व्यवहार र अनुशासनको निकै अभाव र व्यक्ति स्वार्थका खातिर कुण्ठा,ठालुपन र दम्भको निकै प्रभाव रहेको पुष्टि गरेको छ। गैर आवासीय नेपाली संघ , एउटा गैरनाफामूलक सामाजिक संस्था हो ।तर, यस संस्थामा आवद्ध भएर समाजसेवा गर्ने अभियानमा किन हार्दिकता र एकता छैन ? नेतृत्व प्राप्तिका लागि लोकतान्त्रिक अभ्यासका नाममा किन अलोकतान्त्रिक क्रियाकलापहरुले प्रसय पाइरहेका छन् ? नेतृत्व प्राप्तिलाई किन जिम्मेवारी वहनका रुपमा नलिइ, पद र प्रतिष्ठा ग्रहणका रुपमा लिइन्छ ? ठेकेदारी प्रथा किन मौलादै छ ? निर्वाचन पश्चात् मतदाताहरुको अवमुल्यन किन गरिन्छ ? समाजिक कार्यमा सबैसंग हातेमालो गरी अघि बढ्न छोडेर, यस्ता लज्जास्पद संस्कार र व्यवहारहरु किन मौलाइरहेका छन् ? संस्थाको आदर्श वाक्य ‘नेपालीका लागि ,नेपाली’ लाई सार्थक बनाउने पथमा संस्था किन डोर्याउन सकिरहिएको छैन ? संस्थागत पारदर्शीता दिन प्रतिदिन किन संकुचित र कुण्ठित हुदै गइरहेको छ ? नीतिगत र आर्थिक भ्रष्टाचारको कुरा जोडदार किन उठिरहेको छ ? संस्थाप्रति लक्षित समुदायको आकर्षण किन बढ्न सकिरहेको छैन ? संस्थामा परिमाणात्क आबद्धतामा बृद्धि देखिए पनि , गुणात्मक आबद्धता किन खस्कदो छ ? छलछामे, बदनामे, पदलोलुपी, हुक्के चिलिमे र रमितेहरुको कब्जामा रहेको रत्यौली खेल्ने क्लवका रुपमा संस्थाको छवि किन संस्थागत हुदै गइरहेको छ ? संस्थामा आवद्ध जो कोही सदस्यहरुले किन अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ? हो अहिले संस्था हाक्ने अहोदामा रहेकाहरुलाई जोडेर यस्तै यस्तै यक्ष प्रश्नहरु खडा भइरहेका छन् । संस्थागत उद्देश्य प्राप्ति गर्ने र कार्यकाल बढी भन्दा बढी प्रभावकारी बनाउने हो भने , सबैभन्दा पहिला अग्रगामी कदमका बाधक यस्ता प्रश्नहरुको उत्तर तुरुन्त खोजी गरिनु पर्दछ । र, यि यक्ष प्रश्नहरुको सम्बोधन हुने र समस्या समाधानका लागि उपायहरु पहिचान गर्ने गरी आवश्यक एकिकृत ठोस कदम चालिनु पर्दछ।रुखका जराहरुका बाधकहरु नपन्छाइ , जति सुकै मलजल दिए पनि रुखले अपेक्षित फल दिन कदाचित् सक्दैन । त्यसैले, सर्वप्रथम संस्थागत सुदृढीकरण , सुद्धिकरण, एकिकरण र सबलीकरणका बाधकहरु पन्छाउनु अपरिहार्य छ।हैन भने सपथ ग्रहण, पदभार ग्रहण , यताउता भ्रमण, आशन ग्रहण , अर्थहीन भाषण, रासन ग्रहण र अन्तमा छेउटुप्पोको भेउ नै नपाउदै बागडोर हस्तान्तरण मै सकिने छ दुई वर्षे कार्यकाल।
तसर्थ, संस्थाको एक साधारण सदस्यको हैसियतले विलम्ब नगरी संस्थाको गरिमा उच्च राख्न र सबैले गर्व गर्न लायक संस्था बनाउन, अति आवश्यक यिनै प्रमुख मद्दाहरुमा केन्द्रिकृत भएर आफ्नो अभियान प्रारम्भ गरिहाल्न नयाँ टिमलाई अनुरोध गर्दछु। साथै, प्राप्त अवसरलाई पद तथा प्रतिष्ठा ग्रहणका रुपमा नभई, संस्थागत हितार्थ जिम्मेवारी बहनका रुपमा बुझ्न र सोही अनुसार भूमिका निर्वाह गर्न अनुरोध गर्दै यि नै सदिच्छासहित कार्यकाल पूर्ण सफलताको कामना समेत गर्दछु ।