एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

एनपिएलः चितवन राइनोजका खेलाडी काठमाडौँ, १२ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शुक्रबार चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धामा चितवन राइनोजका खेलाडी । तस्बिरः किरणराज विष्टररासस

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ तथा सोहेल तनभिरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । काठमाडौँका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई÷दुई विकेट झारे ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भएको हो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।