काठमाडौं । ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको उत्कृष्ट प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग
(एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउन सफल भएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्यो ।
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।
विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट भए । मिलान्था र हर्ष थाकरले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।
विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।