काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षधर नेता सहभागी नहुने भएका छन् । बिहीबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा नफर्काएको भन्दै बैठकमा सहभागी नहुने निर्णय लिएको हो ।
अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेका थिए । सोहीकारण असन्तुष्ट पक्ष बैठकमा नजाने भएको हो । महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग समेत गरेको छ । समूहले पार्टीलाई नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन समेत माग गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक भने शुक्रबारका लागि बोलाइएको छ ।