एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरिएको उनले बताए । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको भन्दै खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाको नतिजा अपेक्षा अनुसार नआएको एमालेको निष्कर्ष छ । सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले जानकारी दिए ।