एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?

मञ्च निर्माण गरिँदै

नारायणगढ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ । एके पटक ५ लाख मानिस उतार्ने दावि गरेको एमालेको यो महाधिवेशन आयोजना हुने दिन नारायणगढमा यातायात सेवा अस्तव्यस्त हुने छ । कार्यक्रम शुक्रबार हुँदैछ । नारायणगढको यो कार्यक्रमले काठमाडौंतर्फ आउने पूर्व र पश्चिमका सवारी साधनका साथै पूर्व र पश्चिमतर्फ जाने काठमाडौंतर्फका यात्रुलाई समेत प्रभावित बनाउने छ ।

सो दिन बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सवारी साधनको आवागमन रोक्ने तयारी छ । चितवनको स्थानीय प्रशासनका अनुसार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइदैछ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने छ ।

मुग्लिन हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने भएका छन् । पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने भएको छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने बताइएको छ । महाधिवेशनमा सहभागीले दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने भएको छ ।