काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण आफ्नै पार्टी भित्रको अन्तर्घात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस र माओवादीमा यस्तो नभएको बताए । साथै पार्टी अन्य दलका कारण नभई एमालेकै कारण चुनावमा हारेको समेत अध्यक्ष ओलीको भनाई छ । यस विषयमा गम्भीर समिक्षा हुने ओलीको भनाई उदृत गर्दै सांसदहरुले बताएका छन् ।
चार महानगरमा उपमेयर जित्दा मेयर जित्न नसक्नुलाई उनले अन्तर्घातको परिणाम भनेका हुन् । ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तर्घात नभएको बताए। उनले राज्यसत्ताको चरम दुरूपयोग भएको आरोप समेत लगाए । एक्लाएक्लै आधारमा हेर्दा एमाले पहिलो पार्टी भएको दाबी गर्दै उनले सीट मात्र कम आएको बताए । एमाले यस चुनावबाट दोस्रो दलमा झरेको छ । २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिकामा मात्रै प्रमुख पद जितेको छ ।