एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए

काठमाढौं । सत्तारुढ गठबन्धनले १६ सिट दिँदा असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग भने १७ सिटमा चित्त बुझाएका छन् । दुई पार्टीबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको छ । यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।

प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । यी क्षेत्रमा मित्रबत प्रतिस्पर्धा गरिने समेत दुई पार्टीबीचको समझदारीमा उल्लेख छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।