काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ । आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।
प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला उच्च अदालत गएकी थिइन् । बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको हो । ‘तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने आदेश भएको छ । सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।
बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो । एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् ।