एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

काठमाडौं । एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा १९ जना निर्वाचित भएका छन् । एमालेले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । तर, भिम रावल सहितका नेताको अडानका कारण चुनाब भएको हो ।  सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भयो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याएर विजयी भए । अध्यक्षका प्रत्यासी भीम रावलले २२४ मत पाए ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९८० मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरे । उपाध्यक्षमा हारेका  घनश्याम भुसालले ७२६ मत ल्याए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।
सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीको ५६० मत आयो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भएका छन् । नयाँ पदाधिकारीको पदावधि चार वर्षको हुनेछ ।