एमाले पार्टी कार्यालय आसपास पुनः डुबान

काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको छ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो ।

अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।


ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।